मोडलिङलाई नजिकबाट नियाल्दा

बुधबार, १० असोज २०७५
रवि आचार्य

म सिन्धुलीमा जन्मे, हुर्केँ, पढेँ र बढेँ । बाल्यकालमा लजालु स्वाभावको थिएँ । पढाईमा हत्तपत्त अरुलाई जित्न दिन्नथेँ । पढाई राम्रो भएकाले नै एसएलसी दिने बित्तिकै उच्च शिक्षाका लागि परिवारले मलाई काठमाण्डौं पठायो । मोडलिङको आर्कषणले पढाई खच्किदै गयो । उत्कृष्ट अंक ल्याएर एसएलसी पास गरेको मलाई प्लस टु पास गर्न पनि हम्मे हम्मे पर्यो । 

मोडलिङले मन मात्र होइन मेरो पुरै ध्यान र ज्यानलाई पनि आर्कषित गरिरहेको थियो । किनकी म, विजयगोपाल दलीको फिल्म निर्माण कम्पनीमा जागिर गर्न थालेको थिएँ । फिल्म, म्युजिक भिडियो कसरी बन्छ ? त्यहीँ काम गरेपछि, थाहा पाएँ । पर्दामा देखेका हिरो, हिरोईन र चलचित्रकर्मीसँग देखभेट झनै बाक्लियो । सुरज आरडी दाईले म्युजिक भिडियोमा खेल्ने अवसर समेत दिनुभयो । म्युजिक भिडियो खेलेपछि, केही सकारात्मक प्रतिक्रिया पाएँ । जसले मलाई यो क्षेत्रमा कटिबद्ध हुन उत्पे्ररित गर्यो ।

 

मानिसका चाहना र सपना अनगिन्ती हुन्छन् । तर, त्यसको आवश्यकता र महत्व बुझ्न अति जरुरी हुँदो रहेछ । बाल्यकालमा प्लेन उडेको देख्दा पाइट बन्न मन लाग्थ्यो भने आफन्त परिवार बिरामी पर्दा डक्टर । किशोरावस्थामा आइपुग्दा मनोरञ्जन क्षेत्रमा जम्ने सपना पलायो । त्यो सपनाका लागि गरेको संघर्ष मैले जीवनभरी चाहेर पनि बिर्सन सक्दिन, सायद । 

कतिपयले मेरो अभिनय हेरेर नाक पनि खुम्च्याए । त्यो समयमा सकारात्मक प्रतिक्रियाले उर्जा दिन्थ्यो भने नकारात्मक प्रतिक्रियाले चरम निराशा । त्यो निराशाबाट म पनि गुज्रिएँ । धन्न, निराशालाई चिर्नका लागि थुप्रै शुभेच्छुकको शुभेच्छा पाएँ । फलस्वरुप अहिले पनि म यो क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संलग्न भईरहेको छु । 

मेरो जीवन नै मोडलिङ हो । भोली म नायक नै बन्नुपर्छ भन्ने विचारबाट अलिकति टाढिएको छु । अध्ययनलाई प्राथमिकतामा राख्दै आफ्नो पढाई अनुसारको काम गर्ने प्रयासमा जुटेको छु । कलाको आर्कषण जो कोहीलाई हुन सक्छ । मैले थुप्रै म्युजिक भिडियो खेल्ने मौका पाएँ । केही चलचित्रमा अभिनयको अवसर पनि पाएँ । स्टेज कार्यक्रमका लागि विभिन्न जिल्ला पुगेँ । त्यो नै मेरो लागि ठूलो उपलब्धी हो ।

तर, अभिनयको अलवा अध्ययन र अध्ययन अनुसारको प्रोफसनलाई चटक्क बिर्सेर हिँड्नु धागो छिनेको चंगाजस्तै अनियन्त्रित हुनु हो जस्तो मलाई महसुस भएको छ । त्यसैले पनि मेरो रुचीको मनोरञ्जन क्षेत्र र आफ्नो अध्ययनको क्षेत्रलाई सन्तुलन गरेर अघि बढ्ने निर्णयमा पुगेको छु । 

नेपाली चलचित्र क्षेत्रमा बिताएको करिब पाँच वर्षको मेरो भोगाई अनुसार यहाँ नयाँलाई हेप्ने चलन छ । त्यस्तो हेपाई र तिरस्कार मैले पनि थुप्रै सहेको छु । मनमा बसेका सेलिब्रेटी वा चलचित्रकर्मीसँग भेट हुँदा, आफुले सम्मान प्रकट गर्दा उनीहरुको व्यवहारले अपमानित महसुस मैले कयौंपटक गरेको छु । मिडियामा आएपछि मात्र हिजो बेवास्ता गर्नेहरु पनि बोल्न थाल्दा रहेछन् ।  

मलाई मेरा सपनाहरु ताराजस्तै लाग्छन् । किनकी मेरा चाहना र सपना अनगिन्ती त छन् नै साथमा धेरै टाढाको दुरीमा पनि छन् । जसलाई भेटाउन सानोतिनो संघर्षले सकिँदैन । मोडलिङ गरी दर्शकको मन जितेर मृत्यु पछि पनि जति सक्दो धेरै मलामी कमाउने मेरो सपना अझै ज्यँुका त्युँ मनको कुनै कुनामा बाँचिरहेको छ । 

कलाकारिता नै सबथोक हो भनेर बुवा आमाको सपनालाई लात मारेर हिँड्दा पाएका दुखको फेहरीस्तलाई कुनै दिन मनका कुरामा फेरी उतारौंला । अहिले मेरा आँखा खुलेका छन् । टाढाको सपना ठानिएको मोडलिङ क्षेत्रसँग नजिकको नाता गाँसीसकेको छु । व्यवस्थापन विषयको पढाईलाई अघि बढाउँदैछु । पढाई खर्च जुटाउनका लागि सानोतिनो किन नहोस् काम गरिरहेको छु । पढाईसँग सम्बन्धित विषयमै काम गरेर अनुभव पनि बटुल्ने सोचका साथ अघि बढेको छु । जुन मेरो जीवनको अवश्यकता हो । 

यद्यपि, मोडलिङप्रतिको मोह पित्तिक्क पनि घटेको छैन । यो मेरो शोख, रहर र चाहनाको विषय हो । जुन चाहनाको मेरो अन्तिम श्वाससम्म पनि उत्तिकै महत्व रहनेछ । कला क्षेत्रसँग मानिसलाई अजम्बरी बनाउन सक्ने क्षमता छ । त्यसलाई राम्ररी बुझेकाले पनि यो क्षेत्रले मलाई तानीरहेकै हुन्छ । अबका दिनमा थोरै तर राम्रो म्युजिक भिडियोहरुमा काम गर्ने योजना बनाएको छु । फुर्सद निकालेर चलचित्रहरुमा काम पनि गरिरहेको छु । मोडलिङ र कलाकारिता जिविका चलाउने माध्यम बनोस् या नबनोस्, तर जीवनभर यसलाई निरन्तरता भने दिई नै रहनेछु । 

आफ्ना मनका कुरा, खोल्नुहोस् पुरा । तपाईको जीवन भोगाई र अनुभव अमूल्य छ । त्यो कसैका लागि सिकाई र प्रेरणाको प्रतिविम्ब बन्न सक्छ । आफ्नो मनका कुरा लेखेर वा बोलेर हाम्रो Facebookmail.mankakura@gmail.com मा पठाउनु होला । साथै YouTubeTwitter मा जोडीएर हाम्रो परिवार पनि अवश्य बन्नुहोला ।
प्रतिक्रिया दिनुहोस्