रगत नपाए दिपेशलाई सम्झनु

आइतबार, ०७ असोज २०७५
हरि जंग थापा

बालकोट भक्तपुरका स्थानीय बासिन्दा हुन्, दिपेश श्रेष्ठ । पछिल्लो समय रक्तदान नै उनको पहिचान बनेको छ । ‘ न्याय नपाए गोरखा जानु, रगत नपाए भक्तपुर जानु, भक्तपुरमा पनि नपाए दिपेशलाई सम्झनु’ यो भनाई अहिले चर्चामा छ । यही चर्चाले दिपेशको व्यस्तता बढाएको छ । रगत नपाएर भौतारिएका सयौंलाई सहयोग गरिसकेका उनलाई अहिले एकछिन फुर्सद मिल्दैन । उनी सामाजिक व्यक्तित्व भईसकेका छन् । समाज सेवामा नै रमाउन थालिसकेका छन् । रगत नपाएर भौंतारिएकालाई सहयोग गरेर सन्तुष्ट हुन बानी परिसकेका छन् । 

बिरामी बेडमा भएको बेला रगत नपाउँदाको पिडालाई दिपेशले राम्रोसँग बुझेका छन् । पित्त थैलीको अपरेशनका लागि उनको आमालाई पाटन अस्पतालमा भर्ना गरिएको थियो । डक्टरले रगत ल्याउनका लागि भनेछन् । त्यसपछि रगतको खोजीमा कतिसम्म भौंतारिनु पर्दोरहेछ उनलाई थाहा भयो । उनी त्यो दिन सम्झदै भन्छन्, ‘त्यो समयमा अहिलेजस्तो धेरै ब्लड बैंकहरु थिएनन् । भृकुटीमण्डपमा रहेको ब्लड बैंक पुग्यौं, भक्तपुर पुग्यौं । केही आफन्त र साथी भाईसँग सम्पर्क गर्यौं तर आमालाई बचाउन चाहिने बि पोजेटी रगत पाईएन । दैव संयोग कसैले लगेको रगत फिर्ता आएछ । त्यो नै लगेर आमाको अप्रेशन गराउन सफल भयौं । रगत अभाव हुँदा व्यहोर्नु पर्ने दुखको पाठ मैले त्यहीँबाट  सिकेँ ।’ 

दिपेश रेडक्रसमा आवद्ध थिए । रक्तदान पनि बेलाबखत गर्थे । तर, रगत अभावमा बिरामी र आफन्त त्यसरी छट्पटाउनु पर्छ भन्ने उनले भोगेका थिएनन् । आफैंलाई परेपछि घर पुगेर उनले चिनजान राम्रो भएकोलाई त यस्तो दुख भयो भने केही थाहा नभएकालाई झन् कति आपत् पर्दो हो ? भनेर सोचे । त्यसपछि आफ्नो साथी सर्कलसँग मिलेर रक्तदान कार्यक्रम चलाउने योजना बनाए । सबै साथीहरुको ब्लड ग्रुप विवरण टिपेर अप्ठ्यारो परेकालाई रगत दिएर सहयोग गर्ने लक्ष्य राखे । सबैको मन मिल्यो । उनीहरुलाई रक्तदान कार्यक्रम संचालनमा दक्ष बनाउन क्लब २५ ले सहयोग गर्यो । 

सामाजिक छवि बनाईसकेका दिपेशले कयौंपटक रगत दिएर दर्जनौंको ज्यान बचाईसकेका छन् । रगतको लागि कसैको फोन आएमा उनी सबैभन्दा पहिला ब्लड बैंकमा सम्पर्क गर्छन् । ब्लड बैंकमा पनि नपाएको खण्डमा उनी आफुसँग भएको साथीहरुको नामावली र ब्लड ग्रुप हेरेर मिल्ने व्यक्तिलाई रगत दिन लगाउँछन् । 

‘रक्तदान जीवनदान भनेर त हामी खुबै चिच्याउँछौं । म हेर्दा पातलो छु तर ४५ किलो भन्दा बढी नै मेरो तौल । त्यसैले अहिलेसम्म ३८ पटक रक्तदान गरिसकें । तर हाम्रो समाजमा रक्तदान गर्यो भने कमजोर भईन्छ भनेर रगतको ग्रुप मिलेको खण्डमा पनि तर्किने मानिसहरु छन्,’उनी आफ्नो मनका कुरा बताउँछन् । 

रगत दिनलाई कन्जुस गर्नेहरु पनि थुप्रै छन् । तर, दिपेशलाई भने रगत दिन पाउँदा छुट्टै सन्तुष्टि मिल्छ । उनी भन्छन्,‘जब रगत दिईसकेपछि बिरामी उठेर तपाईंको रगतका कारण म बाँचे भन्छ, त्यो पल मलाई स्वर्गिय आनन्द मिल्छ । त्यसैले मलाई यो काम गर्न प्रेरणा मिलिरहेको हो ।’

दिपेशलाई पढाईले कहिल्यै आर्कषित गरेन । बुवाले उनलाई बोकेरै स्कुल पुर्याउँथे । पढाईमा ध्यान दिन बारम्बार सुझाउँथे । तर उनी साथीसँग हुल बाँधेर हिँड्नमै रमाउँथे । फलस्वरुप एसएलसीसम्म मुश्किलले पढे । अहिले भन्छन्, ‘माथिल्लो तहमा पुगेका आफ्ना साथीहरु भेट्दा नपढेकोमा पछुतो लाग्छ । पढाई सबै थोक नभएपनि धेरै थोक चाहिँ हो रहेछ भन्ने महसुस हुन्छ ।’

उच्च शिक्षा नभएपनि उनले अक्षर चिनेका छन् । मनलाई सहयोगी बनाएका छन् । रक्तदाता सूचीको अग्रस्थानमा छन् । अधिकाँस ब्लड बैंकले उनको नाम र सम्पर्क नम्बर सुरक्षित राख्ने गरेका छन् । दर्जनौं संघसंस्थाले सम्मान र पुरस्कार दिएका छन् । सम्मानपत्रले उनको कोठा भरिएको छ । त्यो देखेर पढेन भनेर दुखी भएका उनको बुवा अहिले मख्ख छन् । 

आफ्ना मनका कुरा, खोल्नुहोस् पुरा । तपाईको जीवन भोगाई र अनुभव अमूल्य छ । त्यो कसैका लागि सिकाई र प्रेरणाको प्रतिविम्ब बन्न सक्छ । आफ्नो मनका कुरा लेखेर वा बोलेर हाम्रो Facebookmail.mankakura@gmail.com मा पठाउनु होला । साथै YouTubeTwitter मा जोडीएर हाम्रो परिवार पनि अवश्य बन्नुहोला ।
प्रतिक्रिया दिनुहोस्