काठमाडौंको त्यो बयान ...

शनिबार, ३० भदौ २०७५
रामनाथ घिमिरे

त्यतिखेर, गाउँमा घिमिरेले पढ्यो भने फाप्दैन भन्थे, परिवारका सदस्यले काठमाडौं पढ्न पठाउने कुरा त कल्पनासम्म पनि गर्न सकिदैनथ्यो । तर खुदीबेसीमा बस्दा आफुले पढेको पाठशालाका गुरुले आफ्ना भाइ काठमाडौं पढेर फर्किएका भनेर भाइको बयान गरे त्यो सुनेर आफ्ना गुरु भन्दा जान्नेको होला भन्ने भ्रम तोडियो । मनमा काठमाडौं आएर पढ्ने हुट हुटी जन्मियो राष्ट्रकवी माधब प्रसाद घिमिरेले काठमाडौं प्रवेश गर्दाको दिनहरु सम्झिनु भयो । उहाँले भन्नुभयो ‘हाम्रो गुरु भन्दा पनि जान्ने को होला ? भन्ने थियो ।

काठमाडौंमा त गुरुको पनि गुरु छन् भनेपछि बढो अचम्म ! अनि साना र फुच्चा घर त्यो पनि पातला तर काठमाडौंमा त बाक्ला र ठुला घर भनेपछि, पत्याउनै गाह्रो ! मन्दीरहरु त सुनै सुनका हुन्छन् भन्ने सुनेपछि झनै अहिल्यै जाउँजस्तो लाग्थ्यो ।’  

खुदिबेसीमा पढ्ने जति प्रथमा तहको पढाइ पनि सकिएको थियो । पढाइ राम्रै थियो । झन् ती सरका भाइले काठमाडौको बयान गरेपछि मन थाम्न नसकेका घिमिरे भागेरै काठमाडौं हानिनु भएछ । तर गाउँको याद यति आउँथ्यो कि, उहाँले भन्नुभयो ‘उहाँ पुरै गाँउ नै घर जस्तो लाग्थ्यो अनि, देख्दा र भेट्दा नबोल्ने न नबोलाउने कोही हुन्नथ्यो । तर सहरमा त भिडबीच पनि एक्लो बनिदो रहेछ । गाउँको जस्तो माया र सद्भाव स्वर्गमा गएर पनि पाइदैन होला ।’

घिमिरेले थप्नुभयो गाउँमा त कहिल्यै नदेखेको मान्छेले पनि बोलाएर कुरा गर्दा नजिकको साइनो निस्कन्थो तिमी त मेरो साइला भाइको मितको छोरा, लु छोरा परेछौ । आफुले पनि ढोगिदियो, उसले पनि आर्शिवाद दिन्छ । तर शहरमा कहाँ पाउनु यस्तो साइनो ? उहाँले हास्दै सुनाउनु भयो । 

काठमाडौंमा पढेर बस्दा उहाँलाई सबैभन्दा कठिन दशैं तिहारको बेला पर्दो रहेछ । ‘दशै तिहार आयो कि सधैं घरलाई सम्झिएर आकुल ब्याकुल हुन्थे, दशैंको रमझम र तिहारको रोटि, आँखाभरि आइरन्थ्यो । यहाँ त पाइदैन्थ्यो, बारम्बार त्यही सम्झिन्थे ।’

यति भनि रहदाँ उहाँले एक्कासी भन्नु भो एउटा कुरा सुन्नुहोस्, मलै भने भन्नुस न, उहाँले भन्नु भो ‘मैले, अलि अलि बुढौलिको अनुभव ८० बर्षको उमेर देखि गरेको हुँ, तर पुरै बुढौलीको अनुभव चाँहि त्यही ८५, ८६ देखि गरेको हो । त्यो बुढौलिको अबस्थामा पनि अरु सपना देख्न छोडेर त्यही घरमा गएको सपना देख्थे, त्यही बालखकालको गौडामा उक्लिदाँ खेरिको असजिलो भएको अथवा फुत्त उफ्रेर माथि गएको यी जम्मै देख्छु । बालखकालका सम्झनाभनेको त कलेजीमा लेखिएमा सुनका रेखाहरु हुन् ।’ 

काठमाडौंले, आफ्नो रमाइलो बाल्यकाल र बाल्यकालसंग जोडिएका सुनका रेखाहरु मात्रै खोसेन्, धेरै  अभाव र पिडाहरुसंग पौठेजोरी खेल्न पनि सिकायो । भिडमा पनि एक्लो महसुस गरायो अनि एक्लै बाच्न पनि सिकायो । काठमाडौंले, सम्झनाका लागि धेरै क्षणहरु दिएको छ तर ती क्षणहरु सुखद भन्दा पनि पिडादायक धेरै छन् । उहाँका कुरा सुन्दा यस्तो लाग्छ, उहाँले त्यीनै पिडाहर भुल्नको लागि सृजनालाई साथि बनाउनु भयो । 

तर उहाँको साहित्य क्षेत्रको औपचारिक सुरुवात भने, उहा ँलमजुङ हुँदा नै, भएको थियो । खुदीबेसीमा पढ्दा नै उहाँको पढाइबाट प्रभावित भएका गुरुले पुरस्कार स्वरुप कवि शिरोमणी लेखनाथ पौडेलको कविताको किताव दिनुभएको थियो । त्यो किताव देख्नु भन्दा पहिले त उहाँलाई ती धार्मिक ग्रन्थका श्लोकहरुको प्रभाव यति परेको रहेछ की त्यो वेद लगायतका कितावहरु सब ब्रह्माजीको घरबाटै छापिएर आएका होलान भन्ने लागेको थियो रे ।

उहाँले भन्नु भयो ‘त्यो कविता पाएपछि मात्रै कविता मान्छेले पनि लेख्न सक्ने रहेछ भन्ने लागेको थियो ।’ उहाँलाई त्यसपछि भने कविशिरोमणी लेखनाथ पौडेलका कविताको प्रभाव गहिरोसँग परेको थियो साथमा बाबाले सुनाएको उपदेश मन्जरीको प्रभाव पनि उत्तिकै गहिरो थियो । 

पहिले सृजना रामलाल साहुबारे लेखेपछि लमजुङमा हुदाँ नै गोरखापत्रमा उहाँको सृजना प्रकाशित हुन थालेका थिए । पहिलो सृजना प्रकाशित हुदाँको खुशी अझै ताजै छ उहाँको स्मृतीमा । लेखनाथको कविताको प्रभाव र उपदेश मन्जरी अनि पण्डीतले पुराणमा भनेका कुराहरुलाई मिलाएर उहाँले एउटा कविता लेख्नु भएछ । त्यहि कविता गोरखापत्रमा छापियो ।

उहाँले उत्साहित हँुदै सुनाउनु भयो ‘त्यो छापिएर आएको कविता पहिलो बाजी पढ्दा, जति आनन्द भो नि त्यति आनन्द त राष्ट्रकवि हुदाँ खेरी नि भएको थिएन् ।’ गाउँका मान्छेले ए तिमी त कवि हुन्छौ क्यारे ! भन्दा उहाँ आङै सिरिङ भयो ।

अरुले  फुर्क्याएको देख्दा उहाँलाई अरु त्यस्तै हो कवि चाँहि बन्नु पर्छ भन्ने अठोट पलाएको थियो । त्यसपछि शुरु भयो उहाँको कविता यात्रा, त्यसपछि आफ्नो नाममा पनि कविता अरुको नाममा पनि कविता, जे मा पनि कविता लेख्न शुरु भयो । उहाँको भाषामा ती हावा कविता थिए ।

त्यसमा माधव घिमिरेको ह्दय बोलेको थिएन्, भावना बोलेको थिएन् । हावामा आर्दशका कुराहरु बोलेको थियो । आफ्नो पहिलो कविताबारे उहाँले भन्नुभयो ‘नसुहाँदो कुरा के छ भने त्यो पहिलो कविताको शिर्षक बैराग्य पुष्प थियो, अब त्यो १४ बर्षको उमेरमा केको विरह के बैराग्य हँ ? उहाँले लामो हाँसोसहित प्रश्न गर्नु भयो । 

राष्ट्रकवि माधव प्रसाद घिमिरेको बाँकीजीवनभोगाई, संघर्ष र सफलताको कथा मनका कुरा डटकममार्फत साप्ताहिक रुपमा प्रकाशन भईरहेको छ । 


 

आफ्ना मनका कुरा, खोल्नुहोस् पुरा । तपाईको जीवन भोगाई र अनुभव अमूल्य छ । त्यो कसैका लागि सिकाई र प्रेरणाको प्रतिविम्ब बन्न सक्छ । आफ्नो मनका कुरा लेखेर वा बोलेर हाम्रो Facebookmail.mankakura@gmail.com मा पठाउनु होला । साथै YouTubeTwitter मा जोडीएर हाम्रो परिवार पनि अवश्य बन्नुहोला ।
प्रतिक्रिया दिनुहोस्