ज्वाइँ, यो छोरी तीजमा माइत नगएको धेरै भयो, अहिले त पठाउनुस् है

मङ्गलबार, २६ भदौ २०७५
डा.भीष्मकुमार भूसाल

निधारमा एउटा सप्रेको बखडा जत्रो सेतो कोठी भएका ती बुढा पिढीमा कुम्लो राखेर खुइय्य गर्दै पसिना पुछ्थे । कालो डोरी आकारका लाइनले वर्गाकार कोठाहरू बनेको सेतो च्यादरको कुम्लो हुन्थ्यो त्यो । खरानीमा पछारेर सफा राखेको त्यो कुम्लोको कुनामा चिल्लो चुहिएको हुन्थ्यो । 

७५ पुगेका ती बुढा मानिस हाम्रा मावली बा हुनुहुन्थ्यो । हामी मावलका हजुरबालाई सधैं बा नै भन्थ्यैां । एउटा एकमाने हर्पेभरी घ्यू, पन्ध्रमुठे चैांठीमा तेल, अलिकति फापरको पीठो, कर्कलाको सिन्की यस्तै यस्तै पोका हुन्थे ती कुम्लामा । साथै हुन्थ्यो बेलुकी आफूले पकाएर खानका लागि एक माना चामल, एउटा ढीको नून, अलिकति सिलमको धुलो...। कुम्लो भित्रको सानो कुटुरोमा राखिएको ती चीज बाले हाम्री आमा (उहाँकी छोरी) लाई दिनुभएन, त्यस बर्षको तीजमा छोरी लिन आउँदा पनि। हामीलाइ त्यसमा के होला भन्ने खुल्दुली साँझ सम्म परिरह्यो ।

बेलुकी गाई बाँधेर बाख्रा खोरमा हुल्ने बेलामा बा हाम्रो आँगनमा आइपुग्दा हाम्रा अनुहार केही मीठो खान पाउने आशाले धिपिक्क बलेका थिए । पिढींमा गुन्द्री ओछ्याएर आमाले त्यसमाथि काम्लो राखिदिनु भो। बाले त्यो काम्लो सरक्क पन्छाएर सिरानीतिर राख्नु भयो र ज्वाइँको खोजीनिती गर्नु भयो । त्यो घुर्मैलो साँझमा राम्ररी मान्छे नचिनिने बेला पिताजी घाँसको मूठो बोकेर आउनु भो खेत गोड्ने मेलाबाट । 

बाले ज्वाइँका गोडामा थपक्क शिर राखेर ढोगिदिनु भो । पिताजीले जवाफमा एकसरो सन्चबिसन्च सोध्नु भो । 

आमाले भित्र दाउरा ठोंसठास पार्दै पकाउन लाग्नु भो । हामी बा का वरिपरी उहाँको मुखमा पिलपिल हेर्दै बसिरह्यैां । उहाँले हामीलाइ मुसार्नु भो र "भोली म सित मावल जाने हो" भनेर सोध्नु भो ।

भित्र डाडुपन्यू बजे । आमा बेलामा पानी लिएर बाहिर आउनु भो, खान बोलाउन । तर बाले खान मान्नु भएन । उहाँले "चुल्हो खाली भयो भने एउटा सानो ताउली र पानी देउ है बा" भनेर भन्नु भो आमालाई । हामीलाई अचम्म लाग्यो । बाले मावलमा मीठो मीठो खाने भएकोले हाम्रो घरको खानेकुरा मन नपरेको हो कि ? भन्ने मेरा कलिला दिमागले सोंच्यो । बाले अघि आमालाई नदिई राखेको कुटुरो खोल्नु भो । त्यसबाट चामल झिकेर तामाको ताउलीमा खन्याउनु भो र आमालाई त्यो चामल पकाउन लगाउनु भो । भात गुद्रुगुद्रु छड्किंदै गर्दा हामी खाना खाइरहेका थियैां । मेरो ध्यान भने बाको भात पाकिरहेको ताउलीमै थियो । 

पाकेपछि बाले कुटुरोबाट नूनको ढीको र सिलमको धूलो झिक्नु भो । गोरस थिएन । बाले लसक्क सिलैाटामा त्यो नूनको ढीको पिस्न लगाएर त्यै नून र सिलमको धूलो भातमाथि छर्कनु भो र कपाकप खान थाल्नु भो। मलाई बडो नरमाइलो लाग्यो । पिताजीले "यस्तो चलन ता हटाउन पर्च" भन्नु भो तर बाले मान्नु भएन ।

"अब मेरो जीउ छन्जनीला अघिदेखीको चलन मैले छोड्दिन" भन्दै घुटुक्क पानी पिउँदै निस्तो भात किक्लिक किक्लिक निलीरहेको देख्दा अनायास मेरा आँखामा आँशु आए । मैले आमाको धोतीको सप्को तानेर जिज्ञासु आँखाले आमालाई हेरें । उहाँले मेरो अँधेरो अनुहार देखेर सम्झाउँदै भन्नु भो - "छोरीचेलीका घर्को अन्न, नून खान हुन्न भनेर बाले हाम्रो घरको अन्न नखानएको हो" । 

छ/छ वटी छोरी लिन बा यसरी नै हरेक तीजमा आफ्ना लागि अलिकति चामल, नून र सिलमको धूलो समेत कुटु-याएर बर्षैां हिड्नु भो । त्यो तीजको खाजा खाने (हाम्रा तिर दर खाने भन्दा खाजा खाने वा एकभक्ते भन्ने चलन चल्तीमा छ । खाजाको मतलब नास्ता हैन, कुहिनाबाट चुहिने गरी खान घ्यूमा पकाएको भात हो ) दिनको अघिल्लो रात बा हाम्रा घर आउनुभएको थियो । खाजा खाने दिन बिहानै ज्वाइँसग बाले बिन्ती बिसाउनु भयो - "ज्वाइँ, यो छोरी तीजमा माइत नगएको धेरै बर्ष भयो, अहिले त पठाउनुस् है" । 

"पठाउन ता हुन्तो कर, हेर्नुस्तो, यत्रा केटा'टी छन् । इनी चिचिभुँडीला' क'ले पकाएर ख्वाउँच र हो... दिदीहुर आउलान्, म बिरामी मान्छे..."। आमा बलेनीको आड लाएर कुरा सुनिरहनु भएको थियो । तरक्क आँसु पुछ्दै करेसा पछाडी जानु भो । बाले अघिल्लो दिनका दिन कुम्लो पारेर ल्याएको च्यादर पट्याएर काँधमा राख्नु भो र "नानी, यो हर्पे र चैांठी केटा'टीका हात पठाइदेस् है" भन्दै बाटो लाग्नु भो ।

आमाले जवाफ फर्काउन पनि सक्नु भएन । तल तगारोमा पुगेर पछाडी फर्केर पिलिक्क हेर्नुभो बाले । बा गैरहेको हेर्दै आमाले धोतीको सप्कोले आँशु पुछ्नु भयो । परैबाट बाबुछोरीका आँखा चार भए । "दशैंमा त टीको लाउन एक फिटिक जसोरी भए नि आएस् है छोरी, म डाँडा माथिको जून, कति पो बाँचुला र" भन्दै बाले अरूले नदेख्ने गरी आँशु पुछ्नु भो र पछाडी नहेरीकनै लमकलमक बाटो लाग्नु भो ।

खेत गोड्नको माचामाच थियो । गहुँको पीठो भूटेर ठेकीभरी मही राखेर कम्मरमा नाम्लो बाँधेर आमा खेत तिर लाग्नु भो । हातमा एउटा सानो ट्वाँली (हँसिया) लिएर म पनि पछिपछि लागें । "भरे त चाँडै खाजा खान आउन पर्च है आमा । अरूका त आज मेलामा (काममा) जानि रोइन्चन् । हाम्ला मात्रै तीजका दिन पनि मेलाँ जान पर्नि "- म सुस्तसुस्त फतफताएँ । "हुन्च हुन्च, मेला'ट अलि चाँडै आम्ला" भन्दै आमा अघि लाग्नु भयो । पाSSरी महाभारत पहाडको टाकुरामा हाम्रो मावली घर एउटा सानो छायाँ जस्तै देखिन्थ्यो । आमा हिड्दाहिड्दै टक्क अडिनु भो र यो गीत गुनगुनाउनु भो - 

बाबाको पछि लागि माइत जाने बेलामा

महीको ठेकी बोकेर रूँदै मेलामा ।।

हाम्रा लागि त आमा मावल नगएकै जाती हुन्थ्यो । आमाको पछि लाग्न पाउने भाग्य काखकी बहिनीको मात्रै हुन्थ्यो आमा माइत गए पनि । तर आमा एकभक्तेका दिन हामीलाई पेटभरी खुवाएर बाहिर निस्कनु भयो र त्यो हाम्रा स्याना आँखाले नठम्याउने उहाँको प्यारो माइति घर हेरेर बरर्र आँशु खसाल्नु भो । अर्को दिन डाँडामा (तीजको गीत गाउन गाउँका सबै जम्मा हुने ठाउँ) मा थुप्रै जम्मा भए । मादल बजाएर तीजको गीत गाउने चलन थिएन । थपडी बजाउँदै गाउँदै नाच्दै गर्ने चलन थियो- बाहुन क्षेत्रीको । दलितहरू भने मादल गम्काएरै नाँच्थे गाउँथे, एउटा छेउमा । ८४ पार गरेकी हजुरआमा कम्मर मर्काइ मर्काइ नाच्नु हुन्थ्यो र स्वाँस्वाँ गर्दै तीजका यी गीत झिक्नुहुन्थ्यो -

कस्ता होलान् पशुपति कस्तो होला नेपाल

झिंगटीले छाएको त्यै हो नेपाल......

......शिरफूल लाउँदा लाउँदै माथि आए घाम

लोग र पनिचले हेर राम..... ।

त्यो तीज ३६ बर्ष अघिको थियो । हजुरआमाहरूलाई नेपाल झिंगटीले छाएका घरहरू भएको बजार होला भन्ने लाग्थ्यो होला र त त्यस्तै गीत गाउनु हुन्थ्यो । मेरी आमा आफ्ना ८ सन्तानलाइ घरमा छाडेर तीजमा माइत जाने आँट कहिल्यै गर्नुभएन तर पनि प्रत्येक एकभक्तेका दिन महाभारत पहाडको टाकुरा नेरै रहेको माइति गाउँ हेर्दै उहाँका आँखाबाट गुड्ने ती आँशुका दाना सम्झेर म भावविभोर हुन्छु र अहिले शहरमा तीन महिना पहिले देखी दर खान भन्दै हिड्ने, वाइनका गिलास ठोकाउने र हिन्दी गीतमा नाच्ने तीज सम्झेर रनभुल्ल पर्छु ।

डा.भीष्मकुमार भूसालले यो संस्मरण वि.सं २०६९ सालमा लेख्नुभएको हो । 

भूसालका अन्य लेखहरु यहाँ पढ्न पाइन्छ । 

http://nadikinarakageet.blogspot.com.es/2012/09/blog-post.html 

आफ्ना मनका कुरा, खोल्नुहोस् पुरा । तपाईको जीवन भोगाई र अनुभव अमूल्य छ । त्यो कसैका लागि सिकाई र प्रेरणाको प्रतिविम्ब बन्न सक्छ । आफ्नो मनका कुरा लेखेर वा बोलेर हाम्रो Facebookmail.mankakura@gmail.com मा पठाउनु होला । साथै YouTubeTwitter मा जोडीएर हाम्रो परिवार पनि अवश्य बन्नुहोला ।
प्रतिक्रिया दिनुहोस्