आफ्नो पोस्टर हेरेर आफैं दंग

मङ्गलबार, २६ भदौ २०७५
Manka Kura

भुवन के.सी गायनमा विशेष रुची राख्थे । त्यही रुचीका कारण उनी रेडियो नेपालको गायक बने । जागे सारा रात लगायतका गीतहरुले त्यो समयमा लोकप्रियता कमाए । भुवन लोकप्रिय गायकको रुपमा परिचित हुन पुगे । यही परिचयले उनलाई चलचित्रमा अभिनय गर्ने अवसर जुरायो । 

त्यो समय नायक बन्न अहिले जस्तो सहज थिएन । उनी भन्छन्, ‘पैसा हालेर वा चिनजानका भरमा नायक बन्न सक्ने स्थिति थिएन । प्रतिभा भएकाले पनि ठूलो संघर्ष गर्नुपर्थ्यो ।’ उनले चलचित्र ‘जुनी’ बाट नेपाली चलचित्रमा डेब्यु गरेका हुन् । सरद पालेकर निर्देशीत उक्त फिल्ममा अनुबन्धित हुनका लागि पनि उनले ठूलै संघर्ष गर्नु परेको थियो ।

नायकमा छानिएको अविश्मरणीय क्षण सम्झँदै उनी भन्छन्, ‘सयौँ युवा नायक बन्ने सपनाका साथ अन्तर्वार्ता दिन लाइन लागेका थिए । गायक बनिसकेको मलाई पनि नायक बन्ने इच्छा खुब जागेको थियो । त्यो लाईनका सबैलाई पछि पार्न सफल भएकै कारण नायक बन्ने मौका पाएको हुँ । जुन कुरा सजिलो थिएन ।’

भुवन के.सीको सिने क्षेत्र प्रवेश गर्दा ताका चलचित्र कम बन्थे । कलाकार बन्न चाहनेहरुको भिड थियो । त्यसैले प्रतिस्पर्धा बेजोड हुन्थ्यो । निर्देशकहरु अनुभवले खारिएका हुन्थे । कथा अनुसार कलाकार छान्थे । हिँडाई, बोलाई, अभिनय, अनुहार, ड्रेस अपलगायत हर कुरा नजिकबाट नियाल्थे । उनी भन्छन्,‘न अहिले जस्तो भनसुन लाग्थ्यो, न त चिनजानले चल्थ्यो । पैसाको बिटो खन्याए पनि नायक बन्ने अवसर पाउन मुश्किल थियो ।’ 

चलचित्र ‘जुनी’को छाँयाकनका लागि सम्पूर्ण टोली भारतबाट आएको थियो । प्राविधिक मात्र होइन मेकअपम्यान समेत भारतबाटै झिकाउनु पथ्र्यो । सबैले हिन्दी बोल्ने भएकाले पहिलो फिल्म खेल्दा भुवनलाई भाषाको निकै समस्या परेको थियो । न त उनीसँग अभिनयको अनुभव थियो । अरुको हेरेर नै उनले अभिनय सिकेका हुन् । ‘सुटिङ नै मेरो अभिनय पाठशाला हो,’ उनी पुराना दिन सम्झँदै भन्छन् । 

कतिपय भारतबाट आएका कलाकार अभिनयमा पारंगत थिए । उनीहरुले अभिनय गरेको हेरेर धेरै जानीयो, भुवन पहिलो अभिनय अनुभव सुनाउँछन् । त्यति धेरै मानिसबाट छानीएकाले आत्मबल गतिलै थियो । त्यो आत्मविश्वासले राम्रै काम गर्यो । तर, चलचित्र ‘जुनी’ ले खासै जादु गर्न सकेन ।

उनलाई जीवनमा भने यो चलचित्रले थुप्रै सम्भावनाका ढोका खोल्यो । ‘काठमाण्डौंका पाँच वटै हलमा चलचित्र लागेको थियो । म एकदमै खुशी थिएँ । पोस्टर शहरका भित्तामा लगाईएको थियो । आफ्नै पोस्टर हेर्नका लागि शहर घुम्थेँ । रमाईलो लागेको थियो,’ उनी मनका कुरा सुनाउँछन् । 

यद्यपि, चलचित्र ‘सम्झना’ मा तृप्ती नाडकरसँग अभिनय गर्ने अवसर भने जुराईदियो । ‘सम्झना’ सुपरहिट बन्यो । त्यसपछि भुवनलाई फिल्म खेल्ने अवसरको वर्षा नै भयो । उनी एकाएक सुपरहिट नायक बने । आफैं फिल्म बनाउन थाले । जुन कार्य अहिलेसम्म निरन्तर चलिरहेको छ । 

 

आफ्ना मनका कुरा, खोल्नुहोस् पुरा । तपाईको जीवन भोगाई र अनुभव अमूल्य छ । त्यो कसैका लागि सिकाई र प्रेरणाको प्रतिविम्ब बन्न सक्छ । आफ्नो मनका कुरा लेखेर वा बोलेर हाम्रो Facebookmail.mankakura@gmail.com मा पठाउनु होला । साथै YouTubeTwitter मा जोडीएर हाम्रो परिवार पनि अवश्य बन्नुहोला ।
प्रतिक्रिया दिनुहोस्