अनैतिक सम्बन्धबाट जन्मिदाको पिडा

सोमबार, २५ भदौ २०७५
Manka Kura

बाल्यकालमा आमाको माया अमुल्य हुन्छ । संसारका मुल्यवान चिज एकापट्टी राखेर जोख्दा पनि सायद आमाको मायाले नै जित्छ । त्यो अमुल्य काखबाट बञ्चित बालिका हुन्, गोरखाकी सोनी थापा मगर । 

‘सानै छँदा ममीले मलाई छाडेर पोइला जानु भएको रे, त्यो बेलासँगै लैजानु भनेर म खुब रोएको थिएँ । तर ममी मलाई मावलमै छाडेर जानुभयो । त्यहाँबाट जन्मिएको यो भाईलाई पनि छाडेर अहिले अर्कै बुवासँग हुनुहुन्छ,’ उनले ६ वर्षिय बालकलाई देखाउँदै भनिन् ।  

देवरसँगको सम्बन्धबाट सोनीको जन्म भएको रहेछ । दाई घरमा नभएको मौकामा देवरले भाउजुसँग अनैतिक सम्बन्ध राख्दा छोरी जन्मिएपछि सोनीकी आमालाई समस्याको पहाडले थिच्यो । एउटै परिवारभित्रको अनैतिक सम्बन्धले परिवार नै बिथोलिने निश्चित थियो । उनी त्यहीँ बस्दा समस्या झनै बढ्ने भयो । त्यसैले काखे छोरी लिएर सोनीकी आमा माइत आईन् । 

सायद, उनलाई माइत बसेर जिन्दगी चल्दैन जस्तो लाग्यो । सोनीकी आमाले तेश्रो व्यक्तिसँग विवाह गरिन् । उनको घर व्यवहार राम्रै चलेको थियो । श्रीमान्सँगको सम्बन्ध सुमधुर नै थियो । यो सम्बन्धबाट उनले छोरो जन्माईन् । तर दुर्भाग्य भन्नुपर्छ, श्रीमान् गुमाईन्, अर्थात श्रीमान्को निधन भयो । 

उनीसँग पहिला नै छोरी थिइन् । बिवाहको अनुभव थियो । श्रीमान्को साथका लागि सायद तेश्रो विवाह गरेकी थिइन् । तर, दैवले उनको श्रीमान् खोस्यो । श्रीमान् नै नभएको घरमा बस्न उनलाई मन लागेन र फेरी माइत नै आइन् ।

आमा फर्किएपछि सोनी निकै खुशी भएकी थिइन् । उनलाई लागेको थियो, अब आमा सधैं सँगै रहनेछिन् । ‘तर, सानो भाई पनि मावलमा छाडेर ममीले अर्को बिवाह गर्नुभयो । सानोमा त यसले ममी जाने भनेर दिनुसम्म दुख दिन्थ्यो । अहिले चाहिँ खासै वास्ता गर्दैन,’ उनी रुन्चे स्वरमा सुनाउँछिन् । 

सोनीले आफ्नो बुवा कस्तो छन्, देखेकी समेत छैनन् । आमाले त्यस्तो परिस्थितिबाट गुज्रदासमेत उनलाई फालिनन् । फलस्वरुप सोनीले संसार देख्ने मौका पाईन् । ‘आमा बुवा दुबैको माया लाग्छ, सम्झना आउँछ । ममी बेलाबखतमा आउनुहुन्छ । म र भाई नै खुब खुशी हुन्छौं । छाडेर नगईदिए हुन्थ्यो, कि हामीलाई नी सँगै लगे हुन्थ्यो जस्तो लाग्छ, तर उहाँको पनि बाध्यता होलान्,’ उनी आफ्नो मन बुझाउँछिन् ।

कक्षा ६ मा पढ्ने सोनी १४ वर्षकी भईन् । अब उनलाई जन्मदर्ताको समस्याले सताउन थालेको छ । उनकी आमाको नै जन्मदर्ता, नागरिकता, विवाहदर्ता केही नहुँदा त्यसको प्रभाव उनलाई पर्न थालेको हो ।

‘शिक्षकहरुले जन्मदर्ता भएन भने कक्षा ८ देखि माथि पढ्न पाईदैन भनेका छन्, ममीले पहिला मेरो बनाउँछु अनि तिमीहरुको बनाईदिउँला भन्नु भएको छ । कहिले बन्छ थाहा छैन,’ उनले चिन्ता मिश्रीत स्वरमा भनिन् । 

यस्तो खालको समस्या पर्दा उनी बुवा आमा दुबैलाई सम्झन्छिन् । सँगै भईदिएको भए भनेर कल्पना पनि गर्छिन् । तर, समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ । दुखको भुमरीले उडाएर समस्याको पहाडले वर्षौसम्म थिच्छ । सोनी भन्छिन्, ‘धन्न, माया गर्ने हजुरआमा र हजुरबुवाको साथ पाईरहेका छौं ।’
 

आफ्ना मनका कुरा, खोल्नुहोस् पुरा । तपाईको जीवन भोगाई र अनुभव अमूल्य छ । त्यो कसैका लागि सिकाई र प्रेरणाको प्रतिविम्ब बन्न सक्छ । आफ्नो मनका कुरा लेखेर वा बोलेर हाम्रो Facebookmail.mankakura@gmail.com मा पठाउनु होला । साथै YouTubeTwitter मा जोडीएर हाम्रो परिवार पनि अवश्य बन्नुहोला ।
प्रतिक्रिया दिनुहोस्