यस कारण नायिका कम, नायक ज्यादा

आइतबार, २४ भदौ २०७५
हरि जंग थापा

नेपाली चलचित्र क्षेत्रमा नायिका रेखा थापाले आफ्नो छुट्टै पहिचान बनाएकी छिन् । नारी प्रधान चलचित्र निर्माण गरेर मनोरञ्जनसँगै महिला सशक्तिकरणमा गतिलो योगदान पुर्याइरहेकी छिन् । उनका हरेक चलचित्रमा नारी नै नायकको रुपमा देखिन्छन् । कार्तिक २१ (लक्ष्मी पुजा) देखि प्रर्दशनमा आउन लागेको चलचित्र ‘मालिका’ पनि त्यसकै निरन्तरता हो । नारीहरु पनि समाजको वास्तविक नायक बन्न सक्छन्, यो कुराको महसुस उनलाई आफ्नै बुवाले बाल्यकालदेखि नै गराएका थिए । फलस्वरुप पर्दामा पनि रेखा, नायककै रुपमा देखा पर्दै आएकी छिन् । 

चलचित्र 'मालिका'को चर्चामा रहेको गीत

यो पहिचानका पछाडि उनको बुवाको ठूलो हात छ । बुवाको मुख हेर्ने दिनमा बुवालाई सम्झँदै भन्छिन््, ‘बुवाले मलाई सानैदेखि छोरो मान्नुहुन्थ्यो । त्यसैले छोरी भएपनि म परिवारमा छोरा भएर नै हुर्किएँ । त्यसैको प्रभाव चलचित्रमा पनि देखिएको हुनसक्छ ।’ सायद त्यसैको प्रतिफल हो आजको रेखा थापा । 

रेखालाई बुवाले सधैँ साथीको जस्तो व्यवहार गर्थे । उनको मन भित्र सजिलै छिर्न सक्थे । सोही कारण रेखा आफुलाई आएका लभ लेटरसमेत बुवालाई देखाउँथीन् । बुवालाई अभिभावक मात्र होइन, आत्मीय साथी ठान्थीन् । आदरणीय भएर पनि छोरीसँग आत्मीय बन्न सक्ने बुवाको खुबीप्रति उनी अहिले पनि नतमष्तक छिन् । 

बाल्यकालमा चकचक गर्दासमेत बुवाले उनीमाथी हात उठाएनन् । मात्र निडर बन्न र केही गरेर देखाउन प्रेरणा दिईरहे । तर, उनको जीवनलाई उज्यालो बनाउन चाहने बत्ति ८ वर्ष अघि सधैंका लागि निभ्यो । यद्यपि, आफु संसारबाट बिदा हुनु अघि नै बुवाले रेखालाई आफैं ज्योति बन्न सिकाईसकेका थिए । त्यसैले दुखका अनेक घडीमा पनि उनी बिचलित भईनन् । नारीहरुलाई मन बलियो बनाउने प्रेरणा दिन प्रयासरत रहीन् । 

यद्यपी, कुशे औंसी (बुवाको मुख हेर्ने दिन) मा भने उनलाई बुवाको यादले निकै सताउँछ । उनी भन्छिन्,‘आमाको अपार मायाका कारण पनि अरु समयमा त बुवा हुनुहुन्न जस्तो नै लाग्दैन । तर, बुवाको मुख हेर्ने दिनमा भने उहाँको अभाव महसुस हुन्छ ।’ 

हक्की स्वभावकी रेखाको मनमा बुवाप्रति अपार माया र सम्मान देखिन्छ । तर, सुन्दा अचम्म लाग्न सक्छ, उनले बुवालाई ’तँ’ भनेर सम्बोधन गर्थिन् । उनले आफ्नो मनका कुरा खोल्दै भनिन्,‘सानैदेखि पुलपुल्याएर हुर्काउनु भयो । मनमा उहाँप्रति सम्मान भएपनि मुखले भने कयौंपटक तँ भनेर सम्बोधन गरेको छु । तँपाई भन्यो भने चाहिँ उहाँलाई टेन्सन हुन्थ्यो र किन रिसाएकी भन्दै फकाउनु हुन्थ्यो ।’ 

चलचित्र ‘हिरो’बाट हिरोइन बनेकी उनले हिफाजत, बाटुली, किस्मत, लंका, रावण, काली, हिम्मतवाली, तथास्तु, रामप्यारी, रुद्रप्रियालगायत करिब दुई सय चलचित्रमा अभिनय गरेकी छिन् । नारीहरु कमजोर छैनन् भन्ने सन्देश बोकेका उनका चलचित्रले थुप्रै नायकहरुलाई डेब्यु समेत गराएको छ । पर्दामा जति नायकलाई डेब्यु गराएपनि उनको मनमा भने डेब्यु गर्ने पहिलो नायक नै बुवा हुन् । 


 

आफ्ना मनका कुरा, खोल्नुहोस् पुरा । तपाईको जीवन भोगाई र अनुभव अमूल्य छ । त्यो कसैका लागि सिकाई र प्रेरणाको प्रतिविम्ब बन्न सक्छ । आफ्नो मनका कुरा लेखेर वा बोलेर हाम्रो Facebookmail.mankakura@gmail.com मा पठाउनु होला । साथै YouTubeTwitter मा जोडीएर हाम्रो परिवार पनि अवश्य बन्नुहोला ।
प्रतिक्रिया दिनुहोस्