राष्ट्रकविको मनका कुरा : गोठालोदेखि ससुरालसम्म

शनिबार, २३ भदौ २०७५
रामनाथ घिमिरे

जसको कोही हँुदैन उसको भगवान हुन्छ, राष्ट्रकविका लागि पनि हरेक ठाउँमा साथ र माया दिनेहरुको कमि थिएन् । आमाले सानैमा छोडेर गएपनि, उहाँको ठाउँमा आमाको जस्तै माया दिने हजुरआमा हुनुहुन्थ्यो । 

उहाँले एक दिनको घटना सुनाउनु भयो,‘बाबु एता आइज भनेर मलाइ घरको माथिल्लो तलामा लगिन्, खरको छानाभित्र हात हालेर केही  चिज देखाइन्,  यसो हेर्दा त हातभरि सेता चाँदिका सिक्काहरु थिए ।  मैले यो तेरा लागि राखिदिएको हो, आखा भरि आँसु पारेर उनले भनिन्।  तर मैले कुरा बुझिन किन रोएर तेरोे निम्ति भन्या भन्ने लाग्यो ।’ 

घर, गोठ र मेलापात अधिकासं नेपालीहरुको जीवनशैली हो । ठुलो बुबाले घरको जिम्मेवारी पाउनु भयो, बुबाले गोठको । बाबुको पिठमा चढेर, त्यो बेलाका फुच्चे माधव घिमिरे, एउटा अजंगको पहाड नाघेर गोठालो जानुहुन्थयो । बुबालाई त आफ्नो एउटा छोरा अपार माया थियो नै, आफ्नो मुटुको टुक्रा पनि साथमै लान पाएकोमा उहाँ खुसी हुनुहुन्थ्यो सायद ।  तर घिमिरेको मनमा भने अशान्तिको बादल मडारिईर¥यो। 

उहाँले भन्नुभयो, ‘बुबाको माया त मैले पाएँ, तर त्यो बालखकालमा मलाई त्यो भन्दा गाउँका केटा केटीसंग खेल्ने लुकामारी गर्ने कुरा पो ठुलो थियो मेरो निम्ती, त्यसैले बाबाले जतिमाया गरेपनि गोठमा मलाई एक्लो छु भन्ने अनुभूति भइरहन्थ्यो । 

गोठालाहरु गाईबस्तुको साथमा जान्थे त्यो सानो बालक जंगल जाने कुरै भएन् । अनकन्टार जंगल, र जंगलबीचमा बनाइएको गोठ त्यही गोठमा एक्लै दिन बिताउनु पर्दा कस्तो सकस हुन्थ्यो होला ? अहिले सम्झिदाँ पनि आङै सिरिङ्ग हुन्छ। तर मानिस प्रकृतिको सुन्दर रचना हो र प्रकृति मानिसको साथि पनि हो भन्ने उदाहरण उहाँले त्यहिबेला देखि नै महसुस गर्नु भयो । अनि शुरु भयो उहाँको प्रकृति र जिवजन्तुसंगको मितेरी । 

‘गोठको छेवैको एउटा रुखमा लोखर्के थियो, सानो बालक देखेर होला, कैले खुर्र माथि जान्थ्यो कहिले तल आउथ्यो मैले पनि ए लोखर्के ! ए लोखर्के !! भनेर जिस्क्याउँथे त्यसले बुझेको हो कि के हो मलाई थाहा छैन् । तर मान्छेहरुसंग पनि पशुहरुको एउटा अनौठो सम्बन्ध हुदोँ रहेछ भन्ने मलाई लाग्थ्यो’ उहाँले सुनाउनु भयो । 

एक्लो छदाँ बगेको खोला हेर्ने र खोलासंगै सुसाउने बानी परेको थियो, उहाँलाई । त्यही खोलाको गर्जन, हावाको सुसेली र वनमा बुबाले हालेको श्लोक उहाँको मनभरि गुन्जिन थाल्यो । अनि  त्यहीबेला टुसाएको हुनुपर्छ उहाँको मनमा साहित्यको एउटा बलियो मुना । 

केही समय गोठमा बिताएपछि फेरि जन्मथलो लमजुङको पुस्तुनस्थित बाहुनडाँडामा सारिन्थ्यो गोठ अनि शुरु हुन्थ्यो पुरानै रवाफ । केही समयको गोठ बसाई उहाँको जीवनमा अर्को अध्याय शुरु भयो । 

त्यो बेला त्यहाँ यस्तो उखान चल्तिमा रहेछ, खेति राम्रो बालो, परिवार राम्रो बालक । बुबाहरुमा पनि आफने छोरालाई राम्रो बनाउने प्रतिश्पर्धा चल्यो। पढाइमा अब्बल ठहरिएपछि उहाँलाई गाँउभन्दा ९ —१० कोष टाढाको दुराडाँडामा पठाइयो । 

दुराडाँडामा रामलाल साहुको पसल थियो । खै कसले के भन्यो, वा के प्रभाव प¥यो उहाँले पहिलो पटक रामलालकै विषयमा कविता लेखिदिनुभयो । पसलमा बसेका एकजनाले कविताको धेरै प्रशंसा गरे र भने लु कस्तो राम्रो कविता लैनसुतको फेटा गुथाई देउ । यति भन्ना साथ उहाँको मन यति फुरुङ्ग भएछ कि, फटाफट फेटा गुथेको कल्पनामा डुब्नु भएछ । तर त्यो लोभी साहुले के फेटा गुथाउथ्यो ? उसले मलयाको कागत ल्याएर एक ताउ कागज दियो । 

अनि उहाँले हास्दै सुनाउनु भयो ‘मैले पनि, पाँच रुपैयाको आम्दानी होस् भनेर आसिस दिएँ उनीहरु पनि हाँसे अनि काँँ पाँच रुपैया, पचास रुपैयाको भन्नु पथ्र्यो नी भने, ती दिन सम्झिँदा उहाँको अनुहार झनै चम्किलो भएको थियो ।’ 

त्यहाँ बसेर पढ्दै गर्दा घिमिरे १४—१५ बर्ष पुग्नु भएको थियो । पढाइमा अब्बल घिमिरे गाउँ फर्के पछि फुर्ति बढ्ने नै भयो गाउँभरि उहाँकै चर्चा हुन थालेको थियो । एकदिन गाउँका एकजना ठुला ठालुले आफुसंगै पुराण लगाएको ठाउँमा लिएर गए । पुराण भन्ने एक जना पण्डित घिमिरेबाट यति प्रभावित भएछन कि आफ्नी छोरीको बिहेको लागि कुरा नै उठाएछन् । 

प्रसिद्ध ब्यक्तिले छोरी दिने कुरा उठाएपछि, घरबाट बिहे नगर्दिने कुरै भएन् । १४—१५ बर्षको उमेरमै बेहुला हुनुभयो उहाँ । शिव प्रसाद पोखरेल कि नातिनी, गौरी बनिन् उहाँकी बेहुली । अनि शुरु भयो जिन्दगीको अर्को पाटो, सोझो भाषामा भन्दा उहाँ घर ज्वाई बस्नु भयो तर काम गर्न होइन् ज्वाईको लगन देखेर ससुराले, घर नजिकै रहेको खुदीबेसी पाठशालामा पढ्ने वातावरण मिलाउनु भएको थियो ।

घिमिरे ससुराली बस्दा यति खुसी हुनुभएको रहेछ कि, उहाँले गदगद् हुदै सुनाउनु भयो, ‘दुराडाँडा पढ्न बस्दा मैले आमाकी दिदी ठुलिआमाको मायाले आमाको अभाव बिर्सीएको थिएँ । ससुरालीमा त झन् सम्मान ।’ उहाँले हास्दै भन्नु भो ‘ससुरालीमा बस्दा परिवारमा नपाएको सम्मान । सम्मान पनि छ पढ्न पनि पाइएको थियो ।’ तर सासु र ठुली आमाले सुन्लान कि झैं गरि, उहाँले सासु र ठुली आमाको मायाको भेद् पनि छुट्याउनु भयो, हास्दै उहाँले भन्नुभयो सासुको माया सम्मान मिसिएको ठुली आमाको माया हृदय मिसिएको ।

राष्ट्रकवि माधव प्रसाद घिमिरेको बाँकी जीवन भोगाई, संघर्ष र सफलताको कथा मनका कुरा डटकममा साप्ताहिक रुपमा प्रकाशन हुनेछ । 

लेखक British Forces Broadcasting Service  मा  Co-Editor को रुपमा कार्यरत छन् । 

आफ्ना मनका कुरा, खोल्नुहोस् पुरा । तपाईको जीवन भोगाई र अनुभव अमूल्य छ । त्यो कसैका लागि सिकाई र प्रेरणाको प्रतिविम्ब बन्न सक्छ । आफ्नो मनका कुरा लेखेर वा बोलेर हाम्रो Facebookmail.mankakura@gmail.com मा पठाउनु होला । साथै YouTubeTwitter मा जोडीएर हाम्रो परिवार पनि अवश्य बन्नुहोला ।
प्रतिक्रिया दिनुहोस्