रुद्रराज पाण्डेलाई सम्झँदा

बुधबार, २० भदौ २०७५
नविन लुईंटेल

कला युगौं युगसम्म बाँचिरहन्छ । यसैलाई आत्मसाथ गर्दै एउटा कलाकार दिनरात नभनी पसिना बगाउँछ । मनोरञ्जनसँगै जनचेतना वृद्धि गरेर दर्शकको मन जित्न विभिन्न पात्रहरुमा देखिन्छ । रुद्रराज पाण्डे पनि एक जमानाका कलाकार हुन् जो दर्जनौं पात्रको भूमिकामा देखिए । 

नयाँ पुस्ताले रुद्रराज पाण्डेलाई चिन्दैनन् । जसरी अहिले उनी आफ्नै आफन्तलाई चिन्न सक्दैनन् । पुरानाहरुले पनि रुद्रराजको योगदानलाई बिर्सीसकेका छन् । जसरी उनले आफ्नो विगतको स्मरण गुमाईसकेका छन् । तर, उनी नेपाली चलचित्र क्षेत्रको एउटा इतिहास हुन् । त्यो जमानाका बुलन्द अभिनेता र चर्चित निर्देशक हुन् । 

कला क्षेत्रबाट शन्यास लिइसकेका पाण्डेले ८० वर्ष पार गरिसकेका छन् । उनी अहिले गल्फुटारस्थित आफ्नै घरमा बिरामी र विश्रामको जीवन बिताइरहेका छन् । मस्तिष्कलाई कमजोर पार्ने डिमिनसिया रोगबाट पीडित पाण्डे कोही नजिक गएर बस्यो भनेपनि झट्ट चिन्न सक्दैनन् । ‘बुबाले झट् कसैलाई चिन्न सक्नुहुन्न,’ छोरा रबिन्द्रले भने, ‘उहाँ एकछिन घोरिएर हेर्नुहुन्छ, अनि मैले त चिन्न सकिन भन्नुहुन्छ ।’ छोरा रबिन्द्रका अनुसार घरका अन्य सदस्यलाई भने उनले चिन्न सक्छन् । पाण्डेका २ छोरा र एक छोरी छन् । 

होचो कदका उनको कपाल सेतै फुलिसकेका छन्, सहाराबिना हिँड्डुल गर्न समेत उनलाई मुश्किल छ, तर मुहारमा मुस्कान भने अहिलेसम्म ज्युँका त्यँु छ । ४० को दशकमा विभिन्न टेलिचलचित्रमा अभिनय र निर्देशन गरेका पाण्डेले त्यही समयमा केही चलचित्रमा पनि अभिनय गरे । निर शाहको निर्देशनमा बनेको चलचित्र वासुदेवमा कट्टेल सरको सहकर्मीका रुपमा उनी देखिएका थिए । 

यसैगरी शाहकै निर्देशनमा बनेको बसन्ती चलचित्रमा पनि उनले अभिनय गरेका छन् । यादव खरेलको निर्देशनमा बनेको श्रीस्वस्थानी व्रत कथामा आधारित चलचित्र श्रीस्वस्थानीमा पुजा चन्द, राकेश खड्का लगायतका कलाकारसँगै पाण्डेको अभिनय रहेको थियो । उनले चलचित्र जलन, मन र चोखो मायामा पनि अभिनय गरेका छन् । 

अभिनय मात्र होइन उनमा गीत रचनाको क्षमता पनि थियो । मशाल चलचित्रको गीतमा उनका शब्दहरु समावेश छन् । पाण्डे अभिनयमा मात्र सिमित रहेनन् । उनले निर्देशनमा पनि हात हाले । रुपमति र सहनशिला सुशिला लगायतका टेलिचलचित्रलाई कतिपयले अहिले पनि सम्झन्छन् । 

पाण्डेले अर्काको मान्छे (पहिलो), म, लक्ष्मी पूजा, गुलाफ एकै पटक फुल्छ,  निर्णय, अमरपुत्र, चपाइएका अनुहार, बडा हाकिम, निमित्त नायक, अलिखित, भोक र भित्ताहरु, अविरल बग्दछ इन्द्रावतीलगायतमा अभिनय गर्न भ्याए । “म” नामक नाटकमा अभिनय गर्दै अभिनय क्षेत्रमा प्रवेश गरेका उनी देशको लागि, मुटुको व्यथा, मुकुन्द ईन्दिरा, को कता लगायतका नाटकमा पनि देखिए । 

स्व टङ्कराज पाण्डे र माता स्व दुवेन्द्रलक्ष्मी पाण्डेको कोखबाट जन्मिएका पाण्डेको जन्म वि.सं १९९५ चैत २३ गते बुधवारका दिन भएको थियो । न्युरोड नजिकैको रञ्जना हल नपुग्दैको फसिदेवमा जन्मिएका पाण्डेको दरबार हाई स्कुलबाट शिक्षा प्ररम्भ भयो । प्रवेशिका परिक्षा भने उनले पद्दमोदय हाई स्कुलबाट र स्नातक (वि.ए)  त्रिचन्द्र कलेज तथा स्नातक (वि.एल)  नेपाल ल क्याम्पसबाट गरेका हुन् । 

विसं २०१२ सालदेखि केही वर्ष विजय स्मारक हाई स्कुल, विजय एडल्ट गल्र्स हाई स्कुल र विजय एडल्ट हाई स्कुलमा शिक्षको रुपमा काम पनि गरे । २०२१ सालमा कृषि सामग्री संस्थानमा जागिर खाएका उनले चलचित्र क्षेत्रको उत्थानमा ठूलो योगदान पुर्याउन पनि सफल रहे । 

आज जुन जगमा रहेर नेपाली चलचित्र क्षेत्र अघि बढीरहेको छ, त्यो जग ठड्याउनका लागि पाण्डेले पुर्याएको योगदानलाई कम आँक्न मिल्दैन । त्यो समयका नाटकदेखि लिएर टेलिचलचित्र र चलचित्रका लागि उनले आफ्नो तन, मन, धन र जीवन खर्चिए । चलचित्र क्षेत्रलाई मलिलो बनाउन पसिना बगाए ।

तर, त्यस्ता हस्तीलाई अहिले गुगलमा खोज्दा समेत भेट्न मुश्किल छ । त्यो समय दाम कमाउनका लागि उनीसँग जागिर थियो । नामको भोकले उनी कलाकारितामा होमिएका थिए । उनीसँग भेटेपछि मलाई लाग्यो, यो गुमनामले उनको बुढ्यौली मनलाई कति पोल्दो हो ? 

आफ्ना मनका कुरा, खोल्नुहोस् पुरा । तपाईको जीवन भोगाई र अनुभव अमूल्य छ । त्यो कसैका लागि सिकाई र प्रेरणाको प्रतिविम्ब बन्न सक्छ । आफ्नो मनका कुरा लेखेर वा बोलेर हाम्रो Facebookmail.mankakura@gmail.com मा पठाउनु होला । साथै YouTubeTwitter मा जोडीएर हाम्रो परिवार पनि अवश्य बन्नुहोला ।
प्रतिक्रिया दिनुहोस्