बुझाउने क्या कला

बुधबार, २० भदौ २०७५
देवराज शर्मा कोइराला

विश्वको सर्वोच्च शिखर ठडिएको सोलुखुम्बु जिल्लासँग मेरो पुर्खौली सम्बन्ध जोडीएको छ ।  सोलुखुम्बुको सल्यान दुवाडाँडामा मेरो हजुरबुवा जन्मनु भयो । छिमेकी जिल्ला भोजपुरको दिङ्लामा रहेको पाठशालामा मेरो बुवाले अक्षर सिक्ने मौका पाउनुभयो । 

त्यही समय सायद सन् १९३६ तिर दार्जलिङका वरिष्ठ विद्धान, समाजसेवी संस्कृतिविद्हरुले त्यहाँ पशुपतिनाथ जस्तै मन्दिर निर्माण गर्ने योजना बनाएछन् । योजना पुरा गर्नका लागि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर राणासँग आर्थिक सहयोगको प्रस्ताव गरी पठाएछन् । प्रधानमन्त्रीले साहित्य, संगीत र संस्कृतिको उर्वर भूमिबाट आएको प्रस्ताव स्वीकार गर्दै बुवा धिरशमशेरको नाममा मन्दिर निर्माणका लागि आर्थिक सहयोग गरेछन् । 

शिव मन्दिर बन्यो । मन्दिर रेखदेख र पुजा गर्न पुजारीको खाँचो पर्यो । मेरो बुवा भोजपुरमा पढ्दै हुनुहुन्थ्यो । दार्जलिङमा पुजारीको आवश्यकता परेको भन्दै त्यहाँ जान आदेश भयो । बुवा शिव मन्दिरको पुजारीमा नियुक्त हुनुभयो । नजिकै इलामको फिक्कल गैह्रीगाउँमा जन्मिएकी मेरी आमासँग विवाह गर्नुभयो । हामी दार्जलिङमै जन्मियौं, हुर्कियौं । 

दार्जलिङ सरकारी हाइस्कुल त्यो ठाउँको प्रसिद्ध विद्यालय थियो । त्यसकै सेरोफेरोमा प्रसिद्ध साहित्यकारहरु बस्थे । अच्छा राई रसिक, अगनसिंह गिरी, परशुराम रोका, अरुणा लामा, शरण प्रधान, इन्द्रबहादुर राईसँग बारम्बार भेट भईरहन्थ्यो । हामी बसेको गाउँ साहित्य र संगीतको माहोलले रसिलो थियो । फलस्वरुप सानैदेखि संगीत र साहत्यप्रति रुची जाग्दै गयो । गाउँघरमा हुने कार्यक्रममा सहभागी हुन १०,११ वर्षको उमेरमा नै तम्सीन थालेँ । गीत गाउने, अभिनय गर्ने चाहना सानै उमेरमा पुरा हुनुका साथै प्यारो पनि बने । 

कलेजको विद्यार्थी हुँदा नेपाली साहित्यमा ‘तेश्रो आयाम’ निकै चर्चामा थियो । इन्द्रबहादुर राई, वैरागी काइँला र इश्वरवल्लभले ‘तेश्रो आयाम’ नामको पत्रिका नै निकालेका थिए । तर, यसको कतिपयले खुबै विरोध गरे । केही विद्धानहरु नै यसबारे अलमलमा थिए । फुच्चे म पनि तेश्रो आयाम के हो भन्नेमा जिल्ल थिएँ । बुझ्ने खुब मन थियो । पढाईमा रुची राख्ने एक व्याच अगाडिका जसयोञ्जन प्यासीसँग तेश्रो आयामबारे बुझाउन आनुरोध गरेँ । उहाँले बुझाउने कोशीस गर्नुभयो । शिक्षकले बुझाउँदा त नबुझेको मैले उहाँले भनेको कुरा फिटिक्कै बुझिन । मैले नबुझेकै कारण उहाँले तेश्रो आयमका प्रणेता इन्द्र बहादुर राईसँग साक्षात्कार गर्ने मौका मिलाई दिनुभयो । 

हामी इन्द्र बहादुर राईको घरमा पुग्यौं । जसयोञ्जन दाईले ‘तेश्रो आयाम’ बुझाईदिन आग्रह गरे । इन्द्र बहादुर राई मलाई हेरेर मुसुक्क हाँसे र भने,‘म एउटा कथा भन्छु । ध्यान दिएर सुन र अन्तिममा दुबैजनाले मलाई जवाफ दिनुपर्छ ।’ उहाँले सुनाएको कथा मैले खुब चनाखो भएर सुनेँ ।

यस्तो थियो कथा 

एउटा घर छ । घरमा आमा र छोरा छन् । आमा विधुवा छिन् । छोरो ६, ७ वर्षको बालक छ । दार्जलिङको ठाउँ जाडो असाध्यै छ । उनीहरु गरिबीको चपेटामा छन् । तर, पनि गिट्टी कुटेर हुन्छ की अरुको भाडाँ माझेर हुन्छ, आमाले जसो तसो छोरो पालिरहेकै छिन् । पातलो लुगा लगाएको छोरो बाहिर खेल्न गएको छ । हिँउ पर्न लाग्छ । छोरो बाहिरबाट दर्गुदै आउँछ । जाडो भयो बाक्लो लुगा दिनु भनेर कर गर्छ । आमा यता उता हेर्छिन् । बाक्लो लुगा केहि भेट्दीनन् । छोरो जाडोले निलो कालो भएको छ । टिनको बाकस खोल्छीन् । बाकस भित्र श्रीमानको पुरानो कोट भेट्छीन् । बेवास्ताका कारण बाकसमै रहेको त्यहि कोट छोरालाई दिन्छीन् । ठूलो मान्छेको त्यो कोट सानो बालकको पासुल्लासम्म पुग्छ । छात्ति हङल्याङ हुन्छ । बाहुला पनि ठिक हुने कुरै भएन । यद्यपि, बालक खुशी हुन्छ । त्यहि लुगा लगाएर यता उता गर्छ । त्यो देखेर बालककी आमाको आँखा भरिन्छ । 

कथा सकेपछि इन्द्र बहादुर राईले सोधे, ‘लौ मलाई जवाफ देउ महिलाको आँखाबाट किन आँशु आयो ?’ मैले भने,‘ त्यो महिलालाई श्रीमानको याद आयो । श्रीमान्ले त्यो कोट लगाएर हिँड्दाको सम्झना आयो र त्यसले नै उनको आँखामा आँशु ल्यायो ।’ जसयोञ्जन दाईले भने,‘सन्तानको साधारण आवश्यकता पनि पुरा गर्न नसक्दा उनलाई पिडाबोध भयो । श्रीमान जिवित भईदिएको भए यस्तो दयनीय अवस्थाको सामना गर्न पर्दैनथ्यो भन्ने पर्यो र उनी पिडा पखाल्न रोइन् ।’ 

इन्द्र बहादुर सर मजाले हाँस्नुभयो । ‘दुबैजनाले भनेको सहि हो । कथा सुन्ने सबै मान्छेको बुझाई एउटै हुँदैन । मान्छेपिच्छे बुझाई फरक हुनसक्छ । एउटै कथाबाट धेरै कुरा बुझ्नु नै तेश्रो आयाम हो । कुनै पनि कुराको एकै पाटो मात्र हुँदैन । उचाईबाट हेर्यो भने होचो देखिन्छ । तलबाट हेर्यो भने उचाई र गहिराई देखिन्छ । एउटै मान्छे सर्वगुण सम्पन्न हुँदैन । एउटै मान्छे कसैको नजरमा राम हुन्छ, कसैको नजरमा रावण जस्तो पनि हुन सक्छ वा कृष्णजस्तो चतुर पनि हुन सक्छ र दशरथ जस्तो सोझो पनि हुन सक्छ । हो त्यो सबै आयामलाई समेटेर एकै चोटी भन्नु नै ‘तेश्रो आयाम’ हो । 

म छर्लङ भएँ । सायद अन्तिम श्वाससम्म पनि उहाँले बुझाएको यो कुरा बिर्सीन्न होला । ‘मनका कुरा’ खोल्ने क्रममा सुरुवातमै उहाँकै सम्झना आयो । मनमा अझै थुप्रै कुराहरु खात लागेर बसेका छन् । आगामी दिनमा आफ्नो मनमा भएका अझै रोचक कुराहरु क्रमश खोल्दै जानेछु । अलबिदा इन्द्र बहादुर राई सर । 

आफ्ना मनका कुरा, खोल्नुहोस् पुरा । तपाईको जीवन भोगाई र अनुभव अमूल्य छ । त्यो कसैका लागि सिकाई र प्रेरणाको प्रतिविम्ब बन्न सक्छ । आफ्नो मनका कुरा लेखेर वा बोलेर हाम्रो Facebookmail.mankakura@gmail.com मा पठाउनु होला । साथै YouTubeTwitter मा जोडीएर हाम्रो परिवार पनि अवश्य बन्नुहोला ।
प्रतिक्रिया दिनुहोस्