हरिवंशले जन्मदिन यसरी मनाए

मङ्गलबार, २७ कार्तिक २०७५
Manka Kura

लोकप्रिय कलाकार हरिवंश आचार्यले आज आफ्नो ६१ औं जन्मदिन मनाएका छन् ।  वि.सं.२०१४ कार्तिक २७ गते काठमाण्डौ गौरीधारामा जन्मिएका हरिवंश, परिवारका एक मात्र छोरा हुन् । छोराको चाहनामा आमा बुवाले हरिवंश पूजा लगाएपछि जन्मिएकाले उनको नाम हरिवंश राखिएको हो । बुवा ७३ वर्षको हुँदा जन्मिएका हरिवंशले बाल्यकालमै बुवा आमा गुमाए । 

रेडियो नेपालमा नाटकको संवाद बोलेसँगै सुरु भएको उनको कलाकारिता वि.सं २०३२ सालको गाईजात्रापछि मौलायो । कलाकारितामा ६ वर्ष एक्लै संघर्ष गरेका उनलाई त्यसपछि मदनकृष्ण श्रेष्ठको साथ मिलेको थियो । अहिले यो जोडी एक अर्का बिना अपुरो र अधुरो जस्तै छन् । एउटै सिक्काको दुई पाटा भएका छन् । सबै नेपाली माझ साथीको गतिलो उदाहरण बनेका छन् । 

यीनै उदाहरणी जोडीको विधालाई अंगाल्दै फरक पहिचान बनाउन सफल रेडियो अडियोले हरिवंशको जन्मदिनलाई अझै विशेष बनाईदिएको छ । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, दिपकराज गिरी,सिताराम कट्टेल, कुन्जना घिमिरे, किरण केसी,शिवहरी पौडेल,जितु नेपाल,शिशिर वांदेल लगायतका कलाकारलाई उपस्थित गराएर जन्मदिनलाई विशेष बनाईएको हो । 

जन्मदिनको अवसर पारेर मह सञ्चारको निर्माणमा बन्न लागेको चलचित्र दाल भात तरकारीको शुभ मुहूर्त पनि गरिएको छ । कमलादीको गणेश मन्दिरको प्रांगणमा चलचित्रको शुभ मुर्हत गरिएको हो । चलचित्रको कथा,पटकथा तथा संवाद हरिवंश आचार्यले लेखेका हुन् । चलचित्रको निर्देशन भने किरण केसीका छोरा सुदन केसीले गर्न लागेका छन् ।

चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भूषाल,सन्दिप क्षेत्री, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर बंदेल, विल्सन विक्रम राई, सुरेन्द्र केसी लगायतका कलाकारहरुको अभिनय रहने छ ।

यस्तै, हास्य कलाकार सिताराम कट्टेल र सुबोध गौतमले हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको क्यारिकेचर गरेर माहोल रमाईलो बनाईदिए ।  सुबोध गौतमले गरेको क्यारिकेचरमा उपस्थित सबै कलाकारहरुले पेट मिचि मिचि हासेका थिए ।
 

 

आफ्ना मनका कुरा, खोल्नुहोस् पुरा । तपाईको जीवन भोगाई र अनुभव अमूल्य छ । त्यो कसैका लागि सिकाई र प्रेरणाको प्रतिविम्ब बन्न सक्छ । आफ्नो मनका कुरा लेखेर वा बोलेर हाम्रो Facebookmail.mankakura@gmail.com मा पठाउनु होला । साथै YouTubeTwitter मा जोडीएर हाम्रो परिवार पनि अवश्य बन्नुहोला ।
प्रतिक्रिया दिनुहोस्