... अनि जलाईदिएँ मनुस्मृति

शुक्रबार, २६ असोज २०७५
अनुप जोशी

दसैंको टीका थाप्ने शुभ साइतमा आएर सधैं मेरो मन भने उदासिन भावनाको दलदलमा जाकिन्थ्यो । कारण थिए– मेरा चार दिदीहरु जसलाई सबैले टिकाटालो लगाएर पैसा दिएको देख्दा मेरो मन भित्र आगो सल्किसकेको हुन्थ्यो । आफुले भने निधारै भारी हुने गरी टीका लगाइदिने हजुरबुवा, हजुरआमा, बुवा, आमाहरुलाई जबरजस्ती सित्तैमा ढोगिदिनुपथ्र्याे । कान्छि दिदी मेरै उमेरको भएकाले होला उसँग धेरै मिल्थें ।

हामी सँगै गाउँभरी टीका थाप्न जान्थ्यौं । उसलाई सबैले टीका लाएर पैसा दिन्थे, ढोगिदिन्थे । तर मलाई भने कसैले पैसा दिदैँनथे । उल्टै बुबाआमाले जस्तै गन्हाएका खुट्टा पसारेर ढोग्ने आज्ञा दिन्थे । यस कुरालाई लिएर म निकै रुन्थें र बुवाले फकाउँदै भन्नुहुन्थ्यो,‘दिदी त अर्काको घरमा बिहे गरेर जाने जात भएकाले पो सबैले दक्षिणा दिएको त । पछि गएर आखिर सबै सम्पत्ति तिम्रै त हो नी’

तिहारमा त म झनै बढी पिल्सिन्थें । कारण–मैले नै टीका लगाइदिएर बुवाले दिएको सबै पैसा दिदीहरुलाई दिनुपथ्र्याे । एकादशी, संक्रान्ति जस्ता जुनसुकै चाडपर्व आएपनि दिदीलाई मात्रै टीका लगाएर पैसा मिल्थ्यो । मलाई त यस्तो लाग्थ्यो कि छोरी भएर जन्मन पाएको भए मसँग पनि कत्ति धेरै पैसा हुन्थ्यो । अनि मलाई पनि सबैले देवी भनेर खुट्टामा ढोगिदिन्थे ।

तर आठ–नौ वर्ष जति लागेपछि भने मलाई छोरा हुनुमा नै रमाइलो लाग्न थाल्यो । कारण–मेरा सबै लुगा दिदीहरुले धोइदिन्थे । मैले भात खाएर थालमै चुठिदिन्थें र त्यो थाल उठाएर दिदीहरुले माझ्थे । यस्तै दिदीहरुलाई जस्तो घाँस काट्न, खाना पकाउन आमालाई सघाउन मलाई लगाइएन । चार वटा छोरी–छोरी जन्मेपछि जन्मेको छोरो भनेर घरमा आउने आफन्तहरुले पनि दिदीहरुलाई भन्दा मलाई नै धेरै माया दिन थाले । उनीहरुले दिने मायाको सूचक थियो–मलाई मात्र ल्याइदिने चक्लेट,बिस्कुट ।

एकदिन आमाले काखमा राखेर सुम्सुमाउँदै भन्नुभयो– ‘मेरो प्यारो छोरा, तिमी आएदेखि मेरो जीवनै उज्यालो भएको भएको छ । तिमी पनि छोरी भएर जन्मेको भए त मलाई घरबाटै निकाल्थे होलान् । अर्की बिहे गर्नेसम्मको धम्की दिएका थिए,’ म अवाक् भएँ । आमाको आँखामा आँशु टिलपील–टिलपील गरिरहेका थिए । लाग्यो–म आमाको जीवन उद्दार गर्न आएको मसिहा नै थिएँ । 

जेठी दिदीको बिहे हुँदा म दश वर्ष जत्तिको मात्रै थिएँ होला । बुवाले केटा राम्रो घर–परिवारको छ, चुरोट–रक्सी केही खाँदैन, काठमाण्डौंमा जागिर खान्छ भनेर दिदीको बिहेको निर्णय गर्नुभएको रे । बिहे हुने भनेको दुईचार दिन अघि देखिन् दिदी एक्लै कोठामा टोलाएर बस्न थालेकी थिइन् । कहिलेकाहीँ सुक्कसुक्क आवाज सुनिन्थ्यो । भेट्न चाहने आफन्तहरुसित पनि खासै बोल्न रुचाउँदिनथिन् । बिहेको दिन बेलुका दिदीलाई घरमा नदेखेपछि मैले आमालाई सोधें–दिदी खै? आमाले भन्नुभयो–‘विवाह गरेर दिएपछि त दिदी भिनाजुको भैहाली नी । अब ऊ भिनाजुकै घरमा बस्छे ।’ 

मलाई माया गर्ने दिदी अन्त कतै गएकाले मनमा साह्रै नरमाईलो लाग्यो । केही दिन पछि सारी–चोलो लगाएर अफ्ट्यारो पाराले हिँड्दै दिदी भिनाजु भन्ने मान्छेसँग आईन् । दुल्हन फर्काएर उनी फेरी भिनाजुकै घरमा जाने भन्ने थाहा पाएपछि मलाई भाउन्न भयो । अनि मैले दिदी लुगा फेर्न कोठामा पसेको मौका छोपेर ढोकामै चुक्कुल लगाईदिएँ । त्यसपछि भिनाजु र आमाबुवाले मलाई धेरै फकाएर ढोका खोल्न बाध्य बनाउनु भएको थियो ।

म पन्ध्र वर्षको हुँदा मलाई घरबाट धेरै टाढा विराटनगरमा बोर्डिङ स्कुलमा दश कक्षामा पढाइदै थियो । माइली दिदीको पनि विवाह भैसकेको थियो । कान्छि र साहिँली दिदी जिल्लाकै सरकारी क्याम्पसमा पढ्दै थिए । दसैं मनाउन भनेर म पनि घर फर्केको थिएँ । यो पल्ट पनि मैले सबैको हातबाट टीका थापें, सबैलाई निहुरिएर ढोगें । तर यसपाली बानी परेर हो कि बुझेर हो मलाई दक्षिणा नपाउनुको कुनै दुख लागेन ।

मैले अब बल्ल बुझ्न थालेको थिएँ, हाम्रो समाजमा छोरा र छोरीबीच कत्ति बिघ्न भेदभाव छ भनेर । कसरी छोरी मान्छेलाई यही समाजले देवी, बेश्या र बोक्सीको पगरी भिराउँछ भनेर । कहिलेकाहीँ त आमालाई छोरा जन्माइन भनेर हेला गर्ने आफ्नै पितालाई पनि अपराधीजस्तो कुरुप देख्न थालें ।

मैले विस्तारै धर्म, परम्परा, साहित्य बुझ्दै गएँ । सधंै पुज्दै आएको भगवान कृष्णलाई पनि पीडक जस्तो देख्न थालें र छाडिदिएँ पुजा गर्न, ब्रत बस्न । मनुस्मृति जस्ता कथित धर्मशास्त्रहरुले नारीलाई दासी र पुरुषलाई मालिक बनाएको छरपष्ट हुन थाल्यो मलाई । अनि त एकदिन जलाईदिएँ मनुस्मृति ।

अनुप जोशीका अन्य लेख पढ्न यहाँ क्लीक गर्नुहोस् ।
 

यो पनि हेर्नुहोस् । 

 

आफ्ना मनका कुरा, खोल्नुहोस् पुरा । तपाईको जीवन भोगाई र अनुभव अमूल्य छ । त्यो कसैका लागि सिकाई र प्रेरणाको प्रतिविम्ब बन्न सक्छ । आफ्नो मनका कुरा लेखेर वा बोलेर हाम्रो Facebookmail.mankakura@gmail.com मा पठाउनु होला । साथै YouTubeTwitter मा जोडीएर हाम्रो परिवार पनि अवश्य बन्नुहोला ।
प्रतिक्रिया दिनुहोस्