मान्छेले त सुख दिएनन्, बाँदरको के कुरा ?

बुधबार, २४ असोज २०७५
हरि जंग थापा

पशुपतिनाथ मन्दिर नपुग्दै माधवराज सुमार्गी स्मृति भवनको ठ्याक्कै अगाडि, दैनिक जसो भेटिन्छिन्, जानुका सुन्दास । नाङ्लामा तीन पोका चाउ चाउ छन् । पराग, चुरोट, चिजबल, फ्रुटी पनि उनले फिँजाएर राखेकी छिन् । छेउमै छन्, मिनिरल वाटरका बोतल र चकलेट, चुईगमका बट्टाहरु ।  

बुच्चे कान, चाउरीएका गाला, मुस्कुराउँदा देखिने हिमाल जस्तो लहरै दाँत अनी चिउँडाको सुहाउँदिलो कोठी । तर, सेतै फुलीसकेका छन्, कपाल । जसलाई उनी हरबखत फरियाको फेरोभित्रै लुकाई राख्छिन् । र, घुडामा चिउँडो अड्याई टुसुक्क बसेर ग्रहाक कुर्छिन् दिउँसभरी ।

उमेरले ६० नाघेपनि उनी फुर्तिली देखिन्छिन् । पिडा र वेदनाको उचाईमा पुगेर पनि उनी फेरी काठमाण्डौंको सडकमा पाँच वर्षदेखि आत्म सम्मान र सन्तुष्टि खोजीरहेकी छिन् । विगतका दिन सम्झँदै भन्छिन्,‘१५ सय देखि २ हजारसम्मको व्यापार गरिन्थ्यो । दिनकै ५/६ सय रुपैँया चोखो बच्थ्यो । मासिक खर्च कटाएर फाइनान्समा बचत पनि गर्थें । तर, अहिले त कोठा भाडा तिर्न पनि गाह्रो छ ।’

जानुका १० वर्ष अघि श्रीमान् बितेपछि मोरङबाट राजधानी छिरेकी हुन् । काठमाण्डौंमा उनले पाँच वर्ष अरुको घरमा भाँडा माझ्ने र लुगा धुने काम गर्नि । उनले काम गर्ने एउटा घरका मान्छे दयालु थिए । दयालु घरमुली नै अष्ट्रेलीया जाने भएछन् । उनीहरुसँगै उनको जागिर पनि जाने पक्का थियो । 

तर, घरमुलीले उनलाई ५ हजार रुपैंया हातमा थमाए । ‘बुढो हड्डीले कतिन्जेल नै यसरी खटेर काम गर्न सक्ला ? त्यसैले यो पैसाले नाङ्लो पसल राख्नु, बिस्तारै राम्रो हुन्छ भन्नुभयो । मलाई पनि उहाँहरुको कुरा चित्त बुझ्यो र पाँच वर्षदेखि यही पसलले गुजारा चलाईरहेको छु । बिरामी हुँदा पनि कसैले किन आइनस् भन्दैनन् । आफ्नो खुशीले काम गर्नुको मज्जा बेग्लै हुँदोरहेछ,’ उनले आफ्नो मनका कुरा खोलिन् ।

उनी पाँच सन्तानकी आमा हुन् । चारवटा छोराछोरी भएको बुढो केटासँग उनको बिहे गरिदिए । तर, नयाँ घर उनको लागि नर्क जस्तै बन्यो । डरै डरमा उनले आधा जिन्दगी काटिन् । श्रीमान्ले रक्सी खान्थे । उनलाई मात्र होइन, कलिला छोरा छोरीलाई मार्छु भन्दै झम्टिन्थे । आधा रातमा समेत थुप्रै पटक उनले सन्तान च्यापेर भाग्नु पर्यो । त्यस्तो दुखले हुर्काएका मध्ये कान्छो छोरो अपांग छन् । ‘जोठो छोरोको कुनै अत्तपत्तो छैन, मरेजत्तिकै छ । नातिनी चाहिँ पालिरहेको छु । सानैमा आगोले पोलेर अपांग बनेको कान्छो छोरोले बरु धेर थोर सहारा दिईरहेको छ,’उनी सात वर्षको उमेरदेखि आश्रममा बसेको छोरो सम्झिन्छिन् ।

तीन हजार रुपैंया भाडा तिरेर जानुका तिलगंगा आँखा अस्पताल नजिकै बस्छिन् । सानी नातिनीलाई माइती नेपालको स्कुलमा भर्ना गरिदिएकी छिन् । बिहान ८ बजे खाना ख्वाएर स्कुल पठाउँछिन्, ११ बजे खाजा लिएर आफैं स्कुलमा पुग्छिन् । त्यसपछि बल्ल उनको काम सुरु हुन्छ । नजिकैको होलसेल पसलबाट आवश्यक सामान किन्छिन् र साँझ ६ बजेसम्म बेच्न बस्छिन् । 

पढाई निशुल्क भएपनि नातिनीको कापी कलम र खाजा खर्च उनले जोहो गरिरहेकी छिन् । उनको कान्छो छोराले पनि भतिजी पढाउन सकेको सहयोग बेलाबखतमा गर्ने गर्छन् । तर, यो महिना उनको नातिनीलाई सन्चो भएन । पसल राख्नेमाथि अलि कडा निगरानी हुँदा महिनाको १५ दिन बितिसक्दा एक साता पनि पसल राख्न पाएकी छैनन् । त्यसैले दशैं त परको कुरा उनलाई घरभाडा कसरी तिर्ने भन्ने चिन्ताले बढी सताउन थालेको छ । 

उनलाई श्रीमानले  छाडे । आफैंले जन्माएको सन्तानले पनि छाडे । तर, डरले अहिलेसम्म पनि छाडेको छैन । आफुले किनेर ल्याएको सामान बेच्न पनि उनलाई डर छ । किनकी कहिले पशुपति क्षेत्र विकास कोषले खेदाउँछ त कहिले काठमाण्डौं महानगरपालिकाले । 

‘खुट्टाले राम्रोसँग ज्यान थाम्न छाडीसके, तै पनि आईपुगी हाले भने नभागी सुख छैन । बलिया बांगा त बेताडले भागि हाल्छन् । सामान लगिदिने, गाह्रो पार्ने हामी बुढाबुढीलाई नै त हो,’ लामो सुस्केरा हाल्न नपाउँदै उनको अगाडि बाँदर आईपुग्छ । हाँस्दै भन्छिन्,‘मान्छेले त एकल अनी वृद्ध महिला भनेर बुझ्दैनन् । यसले के बुझोस्, दिनुसम्म दुख दिन्छ बाँदरले पनि ।’ 

यो पनि हेर्नुहोस् ।

 

आफ्ना मनका कुरा, खोल्नुहोस् पुरा । तपाईको जीवन भोगाई र अनुभव अमूल्य छ । त्यो कसैका लागि सिकाई र प्रेरणाको प्रतिविम्ब बन्न सक्छ । आफ्नो मनका कुरा लेखेर वा बोलेर हाम्रो Facebookmail.mankakura@gmail.com मा पठाउनु होला । साथै YouTubeTwitter मा जोडीएर हाम्रो परिवार पनि अवश्य बन्नुहोला ।
प्रतिक्रिया दिनुहोस्