मम्मी आफ्नो ख्याल गर्नुहोस् है

बुधबार, १७ असोज २०७५
Manka Kura

जुन सुकै गाउँ छिर्नुहोस्, परिवारको सदस्य विदेश नगएको घर भेट्न मुश्किल पर्छ । गरिबीले गाँजेको हाम्रो देशमा वैदेशीक रोजगार धेरैको बाध्यता बनेको छ । यही बाध्यताले गोरखा देउरालीकी प्रिति सुनारको अभिभावकलाई पनि विदेश पुर्याएको छ । 

प्रितिको बुवा भारत पसेको सात वर्ष बितिसक्यो । बेलाबखत मात्र घर झुल्कने बुवाबाट उनको परिवारले सहयोगको आश मारिसक्यो । त्यही अभाव र निराशाले प्रितिकी आमालाई नै कलिला बालबच्चा छाडेर विदेश जान बाध्य बनायो । 

‘अभाव थियो । खान, लगाउन पनि समस्या । बुवाको खासै भरथेक भएन । मम्मी नै विदेश जान्छु भन्न थाल्नु भयो । भाईहरुको ख्याल र घर हेर्न सक्छु भन्ने लागेर जानुस् भनिदिँए,’ आँखा रसिला बनाउँदै प्रिति मनका कुरा खोल्छिन् । 

प्रिति १७ वर्षकी भईन् । गाह्रो साह्रो पर्दा नजिकै उनकी ठूली आमा छिन् । आफन्तहरुले पनि सहयोग नै गर्छन् र त उनले पढाई पनि सँगै अघि बढाईरहेकी छिन् । उनको जेठो भाई ठूलो भईसकेका छन् । उनले भनेको खासै मान्दैनन् पनि । बिग्रेर हिँड्ला कि भन्ने उनलाई ठूलो चिन्ता छ । 

उनको सानो भाई श्रवण पाँच कक्षामा पढ्छन् । घर पुग्ने बित्तिकै उनलाई मम्मीको झल्को लाग्छ । उनी मम्मी रोजगारीका विदेश गएको दिन सम्झन पनि चाहदैनन् । बुवा आमा दुबैको सम्झना आउँछ । अरु साथीका आमा बालाई सँगै देख्दा उनलाई त्यो सामिप्यताको लोभ लाग्छ । ‘मलाई पनि बुवा आमाले नछोडेको भए कति खुशी हुन्थें होला भन्ने लाग्छ,’ उनी एक्कासी भक्कानीए । 

सानै उमेरमै प्रितिले घर व्यवहारको ठूलो बोझ बोकेकी छिन् । उनमा परिवार सम्हाल्न सक्ने सहाससँगै पढाईलाई पनि अघि बढाउनु पर्ने चुनौति छ । उनी भन्छिन्,‘कान्छो भाईलाई बेलुकासँगै राखेर पढाउँछु । आफ्नो पढाई खर्चकै कारण कहाँ पुगेर टुंगीने हो थाहा छैन ।

आफु बिरामी पर्दा होस् वा भाई उनलाई मम्मीको सम्झनाले नमज्जाले सताउँछ । एक्लोपनले मन भक्कानिन्छ । ‘सपनामा पनि मम्मीलाई देख्छु । यसो गर, उसो गर भनेर सम्झाइ रहनुहुन्छ,’उनले भनिन् । कतारमा रहनुभएको मम्मीसँग उनीहरुको दुईचार दिनको अन्तरालमा फोन भईरहन्छ । विदेशी भूमिमा भोगेका दुख मम्मीले लुकाउन खोज्छन् । तर, जति नै लुकाउन खोजे पनि प्रितिले महसुस गर्छिन् र आफ्नो ज्यानको ख्याल गर्न सुझाई राख्छिन् ।

उनी भन्छिन्, ‘पैसा मात्र ठूलो कुरा होइन । आफ्नै देशमा त शोषण हुन्छ भने अरुको देशमा त झन् कति हुँदो हो कति ? हाम्रो भविष्य उज्यालो बनाउनका लागि अन्धकारको सामना गर्दै हुनुहुन्छ भने धेरै जोखिम नमोल्नुस् ।’

साथीभाईसँग रमाईलो गर्ने उमेरमा प्रिति जिम्मेवारीले थिचिएकी छिन् । तै पनि राम्रो पढेर आफ्नै खुट्टामा उभिने उनको लक्ष्य छ । यो लक्ष्यलाई पछ्याउन बाटो सजिलो छैन । यद्यपि, चुनौतिहरुको सामना गर्दै आफ्नो यात्रालाई उनले निरन्तरता दिईरहेकी छिन् । बुवा आमाले छोरी ... राम्रो पढ्, आफ्नो ख्याल गर भन्ने बेलामा उनी नै हरेक पटक फोन गर्दा भन्छिन्,‘मम्मी आफ्नो राम्रो ख्याल गर्नुस है ।’ 

आफ्ना मनका कुरा, खोल्नुहोस् पुरा । तपाईको जीवन भोगाई र अनुभव अमूल्य छ । त्यो कसैका लागि सिकाई र प्रेरणाको प्रतिविम्ब बन्न सक्छ । आफ्नो मनका कुरा लेखेर वा बोलेर हाम्रो Facebookmail.mankakura@gmail.com मा पठाउनु होला । साथै YouTubeTwitter मा जोडीएर हाम्रो परिवार पनि अवश्य बन्नुहोला ।
प्रतिक्रिया दिनुहोस्